दफा १५०
अन्तरिम व्यवस्था
: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश र स्थानीय तहको कानून नबनेसम्म स्थानीय तहसम्म कार्यक्षेत्र भएका सहकारी संस्थाको दर्ता तथा नियमनका सम्पूर्ण कार्यहरू सम्बन्धित स्थानीय तहबाट र एक स्थानीय तहभन्दा बढी प्रदेशसम्मको कार्यक्षेत्र भएका सहकारी संस्थाको दर्ता तथा नियमनका सम्पूर्ण कार्यहरू प्रदेश सरकारले गाउँ वा नगर सभा वा प्रदेश सभाद्वारा निर्णय गरी यसै ऐन बमोजिम सम्पादन गर्ने व्यवस्था मिलाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कार्य गर्दा यस ऐन बमोजिम रजिष्ट्रारले प्रयोग गर्ने सम्पूर्ण अधिकारहरू स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले तोकेको अधिकारी र प्रदेशको हकमा प्रदेशको सम्बन्धित मन्त्रालयले तोकेको अधिकारीले तथा मन्त्रालयको अधिकार स्थानीय तहको हकमा स्थानीय तहको कार्यपालिकाले र प्रदेशको हकमा प्रदेशको सम्बन्धित मन्त्रालयले प्रयोग गर्नेछन् ।
(३) उपदफा (१) र (२) बमोजिम व्यवस्था नभएसम्मको लागि सबै तहका सहकारी संस्थाको नियमन यसै ऐन अनुसार हुनेछ ।